पाचथरका डेढदर्जन गाविस सचिव बिहीन
सरकारले लामो समयदेखि दरबन्दीअनुसार गाविस सचिवको पदपूर्तिर् नगर्दा पाँचथर जिल्लाका डेढ दर्जनभन्दा बढी गाविसका बासिन्दा सेवाबाट वञ्चित भएका छन् । सरकारले स्थानीयवासीको समस्यालाई मध्यनजर गरी रिक्त रहेका गाविस सचिवहरूको पदपूर्ति गर्न नसक्दा गाविसवासी सेवाबाट वञ्चित भएका हुन् ।
सचिव नभएकै कारण गाविसस्तरबाट हुने सानातिना योजनाको बाँडफाँड, गाउँपरिषद्, ज्येष्ठ नागरिक भत्ता वितरण जन्म, विवाह, मृत्यु, बसाइसराई व्यक्तिगत घटना, सिफारिसलगायतका काममा गाविसवासीलाई समस्या भएको छ । एकचालीस गाविस रहेको यो जिल्लामा अहिले २२ जना सचिव मात्र कार्यरत रहेको स्थानीय विकास अधिकारी खड्गबहादुर चापागाईंले बताउनुभयो । तत्कालीन विद्रोही नेकपा (माओवादी)ले देशमा द्वन्द्व चर्काएपछि सम्पूर्ण गाविस कार्यालयहरू सदरमुकाम ल्याइएको र शान्तिसम्झौता भएको चार वर्ष बितिसक्दा पनि सरकारले रिक्त रहेको गाविस सचिवहरूको पदपूर्ति गर्न नसक्दा भएका सचिचवहरू पनि गाउँ जान नसकेको जिविस स्रोतले जनाएको छ ।
सचिव कम भएकाले केही सचिवबाहेक धेरैजसो सचिवलाई चार वटासम्म गाविसको जिम्मेवारी दिनुपरेको स्थानीय विकास अधिकारी चापागाईंले बताउनुभयो । काम चलाउनका लागि एक सचिवलाई धेरै जिम्मेवारी दिएर सदरमुकाममै राख्नुपरेको छ । यस्तो नगर्ने हो भने सचिवबाट हुने धेरै गाविसका जनताका काम हुन नसक्ने उहाँको भनाइ छ ।
Post a Comment